Rule 25
प्रयोगमा नआउने मालवस्तु हटाउने वा नष्ट गर्ने सम्बन्धी व्यवस्था
(१) देहाय बमोजिमका मालवस्तु भन्सार कार्यालयबाट हटाउन वा नष्ट गर्न परेमा भन्सार कार्यालयको  प्रमुखले सोको कारण र हटाउने वा नष्ट गर्ने तरिकासमेत उल्लेख गरी लिखित निर्णय गर्नु
पर्नेछः–
(क) ऐनको दफा ७ बमोजिम कुनै पैठारीकर्ताले आफूले पैठारी गरी भन्सार कार्यालयबाट नछुटाई नेपाल सरकारको हुने गरी छोडेको
प्रयोगमा आउन नसक्ने वा लिलाम बिक्री समेत हुन नसक्ने अवस्थाको मालवस्तु,
(ख) ऐनको दफा ३० बमोजिम विशेष परीक्षण गर्दा स्वास्थ्य वा वातावरणलाई हानि पुर्‍याउने वा प्रतिकूल असर पार्ने देखिई
भन्सार अधिकृतले विदेशी मुलुकको सम्बन्धित निकासीकर्तालाई फिर्ता गर्न दिएको आदेश बमोजिम सम्बन्धित पैठारीकर्ताले
फिर्ता नपठाएको मालवस्तु,
(ग) लिलाम बिक्री हुन नसकेको वा कुनै किसिमले प्रयोगमा ल्याउन नसकिने अवस्थाको भई ऐनको दफा ५० को उपदफा (९)
बमोजिम भन्सार कार्यालयबाट सडाउन, गलाउन वा नष्ट गर्न परेको मालवस्तु ।
(२) उपनियम (१) बमोजिम निर्णय भए पछि जिल्ला प्रशासन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालय वा नजिकको सरकारी कार्यालय मध्ये कुनै दुई वटा कार्यालयका प्रतिनिधि, उपलब्ध भएसम्म स्थानीय उद्योग वाणिज्य संघको प्रतिनिधि र भन्सार अधिकृतको रोहवरमा मुचुल्का खडा गरी सार्वजनिक रूपले त्यस्तो मालवस्तु भन्सार कार्यालयबाट हटाउने वा नष्ट गर्ने कार्य सम्बन्धित भन्सार कार्यालयले गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम त्यस्तो मालवस्तु हटाउने वा नष्ट गर्ने कार्य पूरा भए पछि भन्सार कार्यालयको प्रमुखले सो व्यहोरा प्रमाणित गरी त्यस्तो मालवस्तुलाई कार्यालयको लगतबाट कट्टा गरी सोको जानकारी विभागलाई दिनु पर्नेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जनस्वास्थ्य वा वातावरणलाई प्रतिकूल असर पर्ने मालवस्तु वा विषादी वा भारी यन्त्र उपकरण वा सवारी साधन नष्ट गर्दा विभागले तोकेबमोजिम गर्नु पर्नेछ ।